काठमाडौं, १८ असार — आज उज्बेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा नेपाल र श्रीलंकाबीच एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको रोमाञ्चक भिडन्त हुनेछ। नेपाली समयअनुसार साँझ ६:१५ बजे खेल सुरु हुनेछ।
नेपालले समूह ‘एफ’ को पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले हराएको थियो। यसपछिको खेलमा श्रीलङ्काले उज्बेकिस्तानसँग १०–० को ठूलो हार व्यहोरेको थियो। नेपाल र श्रीलङ्काबीचको अन्तर्राष्ट्रिय खेलको इतिहासमा नेपालले श्रीलंकासँग कहिल्यै पराजय भोगेको छैन। दुबै टोलीले सातपटक एक अर्कासँग प्रतिस्पर्धा गरिसकेको छ।
फिफा रैंकिंगमा नेपाल १००औं स्थानमा छ भने श्रीलङ्का १५९औं स्थानमा रहेको छ। यस प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा छनोट हुनेछ, जसले खेलको महत्व र प्रतिस्पर्धालाई अझ बढाएको छ।



