काठमाडौँ, साउन २९ – जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टीबीच बिहीबार काठमाडौंमा औपचारिक रूपमा कार्यगत एकता घोषणा गरिएको छ।
एकता कार्यक्रम जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा सम्पन्न भयो। दुबै नेताले हस्ताक्षरमार्फत यो एकतालाई “एकता उन्मुख कार्यगत एकता” का रूपमा परिभाषित गरेका छन्।
घोषणापत्रअनुसार, संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य र प्रतिबद्धता, आचारसंहिता लगायतका विषयमा सहमति भएको छ। केन्द्रीय तहमा संयोजन समिति रहने व्यवस्था गरिएको छ, जसमा दुवै पार्टीबाट ७/७ जना सदस्य रहनेछन्, जसमा कम्तीमा २ जना महिला अनिवार्य रहने प्रावधान छ।
यस्तै, प्रादेशिक स्तरमा ५/५ सदस्यीय र स्थानीय स्तरमा ३/३ सदस्यीय संयोजन समिति गठन गरिने उल्लेख छ। बैठकको अध्यक्षता दुबै पक्षले पालैपालो गर्ने व्यवस्था पनि गरिएको छ।
अशोक राई यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए भने राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए। यस कार्यगत एकतालाई दुवै पक्षले भावी राजनीतिक एकताको दिशामा अग्रसर हुने प्रारम्भिक कदमका रूपमा लिएको बताएका छन्।







