काठमाडौं, ३० असार — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानहरूले मलखाद नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले मल आयातमा ढिलाइ भएको र किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको गुनासो गरेका छन्।
प्रचण्डले भने, “मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न २७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियो। तर, असार सकिन लाग्दा पनि किसानका खेतमा मल पुगेको छैन।” उनले हालसम्म २ लाख मेट्रिक टनभन्दा बढी मल आयात नै हुन नसकेको तथ्य सार्वजनिक गर्दै प्रश्न उठाए, “आयात भएको भनिएको मल कहाँ गयो?”
उनले मल वितरणमा शक्ति र पहुँचका आधारमा हुने पक्षपात अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, उखु किसानको बक्यौता अझै नदिएको र अनुदान आधा घटाइएको विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्।
तराई–मधेसका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै प्रचण्डले भने, “धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ।”
अन्ततः उनले किसानलाई तत्काल कृषि मिटर उपलब्ध गराउन, विद्युत् आपूर्ति सुचारु गर्न, सिँचाइको उचित व्यवस्था मिलाउन र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।



