काठमाडौं, भदौ ८ — रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। कात्तिक १७ गते हुने निर्वाचनका लागि पार्टीले अन्य दलसँग गठबन्धन नगर्ने स्पष्ट संकेत दिएको हो।
माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीका अनुसार पार्टीले केन्द्रमा पनि आफ्नै उम्मेदवार उठाउनुपर्ने माग राखिसकेको छ। उनले स्थानीय तहका कार्यकर्ताहरूको भावनाअनुसार यसपालि हसियाँ–हथौडामा मत दिने अवसर दिनुपर्ने बताएका छन्।
यसअघिका दुई निर्वाचनमा माओवादीले उम्मेदवार नउठाएको र आफ्ना समर्थकहरूले प्रत्यक्ष मत दिन नपाएको प्रसंग स्मरण गर्दै जिसीले यसपटक परिस्थिति फरक हुने बताए।
रुपन्देही–३ मा उपनिर्वाचन राप्रपाका सांसद दीपक बोहराको निधनपछि घोषणा भएको हो। अहिले प्रमुख दलहरूले उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहेका छन्। एमालेबाट चार जनाको नाम सिफारिस भइसकेको छ भने रास्वपाले भदौ १५ भित्र उम्मेदवार टुंग्याउने जनाएको छ। कांग्रेसले भने अहिलेसम्म नाम सिफारिस प्रक्रिया सुरु गरेको छैन।
यससँगै रुपन्देही–३ को उपनिर्वाचन प्रतिस्पर्धात्मक हुने देखिएको छ, जहाँ माओवादी केन्द्र पहिलो पटक आफ्नो उम्मेदवारसहित मैदानमा उत्रन लागेको हो।



