काठमाडौं, भदौ १२ — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा भ्रष्टाचार नगर्ने कम्यूनिष्ट पार्टीको आवश्यकता औंल्याएका छन्।
शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बुटवलमा आयोजना गरेको “वर्तमान राजनीतिक संकट र निकास” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले अहिलेका अधिकांश कम्युनिष्ट दलहरू दलाल पूँजीवादको प्रभावमा फसेकाले जनतामा निराशा र असन्तोष बढेको बताए।
उनले भने, “नेता र गुटगत राजनीतिले जनतालाई अपमानित मात्र पारेको छैन, बरु झुटा नाराले समाजलाई तरंगित बनाएको छ। यसबाट निकास दिन सुशासनको ग्यारेन्टी गर्ने नयाँ कम्युनिष्ट पार्टी अपरिहार्य छ।”
भुसालका अनुसार, संविधान र व्यवस्था फेरिए पनि दलहरूको संरचना र कार्यशैली पुरानै रहनुले देश आज पनि राजतन्त्रकालको जस्तै दलाल पूँजीवादमा जकडिएको छ। यही कारण अहिलेको राजनीति ‘नयाँ इतिहास जन्माउने प्रसव पीडामा’ रहेको उनको तर्क थियो।
उनले वामपन्थी आन्दोलनलाई पुनः ध्रुवीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “पुराना मान्यताहरू भत्किएका छन्, भ्रमहरू सकिएका छन्, अब नयाँ मूल्य र मानक बनाउनुपर्ने बेला आएको छ।”
माओवादीको जनयुद्ध र एमालेको बहुदलीय जनवाद दुवै दलाल पूँजीवादको भित्तामा ठोक्किएर घाइते भएको उल्लेख गर्दै भुसालले ती अनुभवहरूलाई एउटै ध्रुवमा ल्याएर देशको भविष्य निर्माण गर्न सकिने बताए।
यस क्रममा उनले नेकपा महासचिव विप्लव र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भएका छलफलको प्रसंग उठाउँदै भने, “हामी छुट्टै पार्टी बनाउन होइन, सहि सिद्धान्तका आधारमा विभाजन नभई एकताका लागि बहस गरिरहेका छौं।”
भुसालले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रवि लामिछानेसम्मका नेतासँग असन्तुष्ट जनता अब नयाँ विकल्पको खोजीमा रहेको टिप्पणी गरे। उनका अनुसार, यही असन्तुष्टिलाई सम्बोधन गर्दै देशभर वामपन्थी बहसलाई माथिदेखि वडासम्म विस्तार गर्नु जरुरी छ।
उनले यस्तो राजनीतिक बहस बुटवलमा सुरु भइसकेको र यसले छिट्टै गति लिनुको विश्वास व्यक्त गरेका छन्। नयाँ र जिम्मेवार नेतृत्वमार्फत मात्रै जनताको विश्वास पुनः स्थापित गर्न सकिने उनले बताए।



