काठमाडौँ, साउन २८ – चितवनमा हालसालै तीन जनामा जापानिज इन्सेफलाइटिस (JE) संक्रमण देखिएको छ। जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोग पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रण अधिकारी उत्तम प्याकुरेलका अनुसार सन् २०२५ मा बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफलाइटिस देखिएको छ, जसमा सिन्धुलीका एक र चितवनका तीन जना छन्।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो, जसमा क्युलेक्स जातको पोथी लामखुट्टे प्रमुख माध्यम हुन्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन, तर लामखुट्टेले सङ्गुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्दा संक्रमण फैलाउन सक्छ।
संक्रमित व्यक्तिमा अचानक उच्च ज्वरो, टाउको दुख्ने, वान्ता, शरीर काम्ने, घाँटी अररो हुने र बेहोस हुने लक्षण देखा पर्छ। उपचार नपाएमा पक्षघात, अपाङ्गता र मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ। जनस्वास्थ्य कार्यालय चितवनले लक्षण देखिने बित्तिकै नजिकको अस्पतालमा उपचार सुरु गर्न आग्रह गरेको छ।
संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर वरिपरी पानी जम्ने ठाउँ हटाउन, बालबालिकालाई खोप लगाउन, घरपालुवा पशुपक्षीलाई घरदेखि टाढा राख्न र झ्याल-दरवाजा जालीले बन्द गर्न सिफारिस गरिएको छ।



