भदौ २३, काठमाडौं । जेन–जी आन्दोलनलाई लिएर राजधानीमा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेशको दायरा बढाएको छ।
बानेश्वर क्षेत्रमा सुरुवात गरिएको कर्फ्यू अब बालुवाटार, शीतल निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार परिसर र सिंहदरबार आसपाससम्म फैलाइएको हो। संसद भवनतर्फ प्रदर्शनकारी प्रवेश गरेपछि अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएको भन्दै प्रशासनले यस्तो कदम चालेको हो।
प्रशासनले मध्यान्ह १२:३० बजेदेखि लागू भएको कर्फ्यूलाई राति १० बजेसम्म जारी रहने जनाएको छ। कर्फ्यू लागू गरिएका क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ पूर्णतया निषेध गरिएको छ।
सुरक्षा निकायहरूलाई कडाइका साथ परिचालन गरिएको छ भने संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।



