१५ असार, काठमाडौं — टर्की भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले टर्कीका यातायातमन्त्री अब्दुल कदीर उरालोग्लुसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
इस्तानबुलमा आयोजित “ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५” को अवसरमा उनीहरूबीच साइडलाइन वार्ताका क्रममा क्षेत्रीय हित र सहकार्यका विषयमा छलफल भएको हो।
मन्त्री दाहालले नेपालजस्ता भूपरिवेष्ठित मुलुकहरूको विकासका लागि क्षेत्रीय कनेक्टिविटी र सहकार्य अपरिहार्य रहेको धारणा राख्दै नेपालले अवलम्बन गरिरहेको बहुआयामिक र बहुदिशात्मक पहुँच रणनीति प्रस्तुत गरे।
उनले निर्माणाधीन पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरहरूले नेपाललाई भारत र चीनजस्ता विशाल छिमेकी मुलुकसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।



