काठमाडौँ, २१ भदौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाको दबाब र धाक–धम्कीबाट बनेको आरोप लगाएका छन्।
पोखरामा नेपाल उद्योग व्यापार महासंघको कार्यक्रममा प्रचण्डले भन्नुभयो, “कांग्रेस–एमाले सरकार उनीहरूको बुद्धिले बनेको होइन, दलाल र बिचौलियाको दबाबले बनेको हो।” उहाँले वर्तमान सरकारलाई डरले बनेको र अझै डरले टिकेको पनि बताए।
प्रचण्डले भने, “हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार नेता यस प्रकारको सरकारमा बस्नु हुँदैन।” उनले वर्तमान सरकारलाई क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधि बताउँदै आफ्नो पार्टी वैकल्पिक शक्ति भएको दावी गरे।
सहकारीको अपचलन र मध्यम वर्गको उत्थान विषयमा प्रचण्डले आफ्नो पार्टीको प्राथमिकता स्पष्ट पारे। उनले मध्यम वर्गको पक्षमा काम गर्दै ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको हितमा नीति अगाडि बढाउने प्रतिबद्धता जनाए।
प्रचण्डले कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको भन्दै शक्तिशाली प्राधिकरणमार्फत ठगहरूको कारबाही अघि बढाउन खोज्दा सरकारको ढलाइले रोकिएको पनि बताए।



