३० जेठ, काठमाडौं — अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएका डा. सुजन कडरियाले आफ्नो जितलाई विद्यार्थी आन्दोलनको नयाँ मोडको सुरुवातको रूपमा लिएका छन्। चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएका कडरियालाई नेतृत्व दिइनु आफैँमा संगठनको सोचमा आएको परिवर्तनको संकेत हो भन्ने उनको विश्वास छ।
नेसनल मेडिकल स्टुडेन्ट्स एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका कडरियाले प्रकाश पौडेललाई सात मतले हराउँदै अध्यक्ष पदमा निर्वाचित भए। सचिव पदमा रहँदै संगठनमा योगदान दिएका उनले विद्यार्थी आन्दोलनमा सुधार ल्याउन र वर्तमान युवा पुस्ताको सोच, आवश्यकताहरूलाई समेटेर अघि बढ्ने योजना सार्वजनिक गरेका छन्।
उनको प्राथमिकतामा शिक्षामा रहेको वर्गीय विभेद अन्त्य गर्नु, सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नु, ऐतिहासिक चेतनाको पुनर्जीवन गर्नु, र विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्नु रहेको छ। उनले प्राविधिक धारबाट नेतृत्वमा आएका विद्यार्थीले पनि जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउँछ भन्ने परीक्षणको रूपमा आफ्नो कार्यकाललाई लिएका छन्।
उनले हालका विद्यार्थीहरूको मनोविज्ञान, आवश्यकता र चेतनास्तर बुझ्न अध्ययन आवश्यक रहेको बताउँदै अनुसन्धान र संवादका माध्यमबाट आन्दोलनलाई नयाँ स्वरूप दिने अठोट व्यक्त गरेका छन्।
विपक्षी उम्मेदवारलाई समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै कडरियाले संगठनभित्रको प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्। उनले नेतृत्वमा आएपछि पूर्ववर्ती नेतृत्वका अनुभवहरूलाई पनि सम्मान गर्दै समावेशी ढंगले संगठनलाई अघि बढाउने बताए।
डा. कडरियाले आगामी दुई वर्षमा विद्यार्थी आन्दोलनलाई सक्रिय र प्रभावकारी बनाउँदै, रातो घरलाई पुनः उज्यालो बनाउन पहल गर्ने योजना रहेको बताए। उनको नेतृत्वमा विद्यार्थी आन्दोलनले नयाँ ऊर्जा र दिशा पाउने अपेक्षा गरिएको छ।



