काठमाडौं, भदौ ३० — नयाँ ऊर्जा मन्त्री बनेलगत्तै कुलमान घिसिङले आफ्नो पहिलो कदम उद्योगी–व्यवसायीबाट डेडिकेटेड र ट्रंकलाइनमार्फत बाँकी रकम उठाउनेतर्फ चालेका छन्। उनले नेपाल विद्युत प्राधिकरणलाई तत्कालै बक्यौता असुली प्रक्रियामा अघि बढ्न निर्देशन दिएका छन्।
घिसिङ कार्यकारी निर्देशक रहँदा पनि उनले यो मुद्दा उठाएका थिए तर राजनीतिक कारणले सफल हुन सकेका थिएनन्। अब मन्त्रालयको नेतृत्वमै पुगेपछि उनले यही विषयलाई प्राथमिकता दिँदै सरकारलाई तत्काल स्रोत जुटाउन यो कदम आवश्यक रहेको बताएका छन्। उनका अनुसार मुलुक आर्थिक तथा राजनीतिक दुवै चुनौतीबाट गुज्रिरहेको बेला सबै पक्षले जिम्मेवारी लिनुपर्ने आवश्यकता छ। “व्यवसायी, नागरिक र प्रवासी नेपाली सबैले योगदान दिनुपर्छ,” भन्दै उनले डेडिकेटेड लाइनको रकम असुलीलाई पहिलो प्राथमिकतामा राखेका छन्।
घिसिङले पदभार ग्रहण गर्दै अन्तरिम सरकारको जिम्मेवारी विशेष अवस्थामा आएको भन्दै निर्वाचन, पुनर्निर्माण र ऊर्जा अभियानलाई गति दिने प्रतिवद्धता व्यक्त गरे। उनले उज्यालो नेपाल अभियानलाई अझ प्रभावकारी बनाउने र जेनजी आन्दोलनका क्रममा प्राण गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको चाँडो स्वास्थ्यलाभको शुभकामना समेत प्रकट गरे।
सपथ ग्रहणपछि उनी घाइतेहरूलाई भेट्न गएका थिए र त्यसपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए। उनले जनआन्दोलन र पछिल्ला संघर्षका मागलाई कार्यान्वयनतर्फ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।



