काठमाडौं, २७ भदौ । ललितपुरस्थित नक्खु कारागारले हालैको जेनजी आन्दोलनका क्रममा जेल परिसरबाट बाहिरिएका कैदी तथा थुनुवाहरुलाई तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ।
कारागार प्रशासनले जारी गरेको सूचनामा कानुन र प्रक्रियाको सम्मान गर्दै आत्मसमर्पण गर्नुपर्ने स्पष्ट गरिएको छ। यदि स्वेच्छाले सम्पर्कमा नआए थप सजाय हुने चेतावनीसमेत दिइएको छ।
आन्दोलन हिंसात्मक बन्दै जाँदा रास्वपा अध्यक्ष रवि लामिछानेसहित कैदीबन्दीहरु बाहिरिएको चर्चा भए पनि कारागार प्रशासनले उनीहरुलाई ‘फरार’ को सूचीमा राख्दै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने संकेत गरेको हो।
प्रशासनले फरार अवस्थाको निरन्तरता समाज र शान्ति सुरक्षाका लागि गम्भीर विषय भएको भन्दै सबैलाई कानुनअनुसार आत्मसमर्पण गर्न औपचारिक आह्वान गरेको छ।



