काठमाडौं, भदौ १५ — नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ। विगत केही वर्षयता निरन्तरता दिँदै राष्ट्र बैंकले यसपटक पनि नयाँ नोट उपलब्ध नगराउने जनाएको हो।
यद्यपि, सर्वसाधारणलाई सहजता होस् भनेर बैंकले ‘सुकिला नोट’ साट्ने व्यवस्था भने मिलाएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म कार्यालय समयभित्र सुकिला नोट साट्न सकिनेछ।
यसका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू साथै बैंक तथा वित्तीय संस्थामार्फत नोट साट्ने सुविधा उपलब्ध गराइनेछ।
राष्ट्र बैंकले विगतमा दसैंका लागि ठूलो मात्रामा नयाँ नोट छपाइ तथा वितरण गर्दा हुने अतिरिक्त खर्च, व्यवस्थापन चुनौती र प्रयोगमा आएका नोटलाई पुनः बजारमा चलनचल्तीमा ल्याउने उद्देश्यले यो अभ्यासलाई निरन्तरता दिइएको जनाएको छ।
यस वर्ष पनि दशैं नजिकिँदै गर्दा सर्वसाधारणलाई आवश्यक परेमा नोट साट्न सहज हुने गरी पर्याप्त तयारी गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।



