२ असार, काठमाडौं — नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) खेल खेल्दै छ। सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको नेपालले अहिलेसम्म ९९ टी-२०आई खेलेको छ, जसमा ५५ जित र ३९ हार रहेको छ भने २ खेल बराबरी र ३ खेल नतिजाविहीन रहेका छन्।
नेपालले पहिलो टी-२०आई खेल हङकङसँग जितेर सुरु गरेको थियो र त्यसपछि बंगलादेशसँग पराजित भए पनि अफगानिस्तानलाई हराएको थियो। पहिलो टोलीमा रहेका पेस बलर सोमपाल कामी अझै पनि टोलीमा छन्, तर चोटका कारण हाल उपलब्ध छैनन्।
टी-२०आईमा सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले बनाएका छन् भने कुशल भुर्तेल, कप्तान रोहित पौडेल र आसिफ शेखले पनि उल्लेखनीय रन बनाएका छन्। बलिङमा सन्दीप लामिछानेले सबैभन्दा धेरै १०८ विकेट लिएका छन्, र करण केसीले ९९ विकेट लिएका छन्। आजको खेलमा करण केसीले १००औं विकेट लिने मौका पाउनेछन्।
नेपालले टी-२०आईमा सबैभन्दा ठूलो योगफल ३१४ रन बनाएको छ, जुन २०२३ को एसियन गेम्समा मङ्गोलियाविरुद्ध बनाइएको थियो। त्यही खेलमा कुशल मल्लले १३७ रन बनाएर नेपालका लागि सर्वाधिक व्यक्तिगत स्कोर कायम गरेका छन्। नेपालका पाँच ब्याटरले टी-२०आईमा शतक बनाइसकेका छन्।
टी-२०आईमा नेपालको सबैभन्दा कम योगफल ५३ रन हो, जुन २०१५ मा आयरल्यान्डविरुद्धको विश्वकप छनोट खेलमा आएको थियो। बलिङमा अविनाश बोहराले माल्दिभ्सविरुद्ध ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्।



