काठमाडौं, असोज ७ — मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से सूचकांक २.२३ प्रतिशतले बढेर २६८२ अंकमा पुगेको छ। आज २३८ कम्पनीको मूल्य बढ्दा १४ कम्पनीको मूल्य घटेको छ। कारोबार रकम भने ५ अर्ब २९ करोडमा सीमित रह्यो।
विशेषगरी निर्जीवन बीमा समूहको सेयर मूल्य ३.४८ प्रतिशतले वृद्धि भएको छ। भदौ २४ गतेको जेनेरेसन जि आन्दोलनका कारण भएको विध्वंसपछि यो समूहको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो। बीमा कम्पनीहरूमा अहिलेसम्म करिब २२ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानीको आवेदन परेको छ।
यसैगरी अन्य समूहमा पनि सकारात्मक प्रवृत्ति देखिएको छ। बैंकिङ समूह १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, जीवन बीमा २.३१, माइक्रोफाइनान्स २.५४, उत्पादन तथा प्रशोधन १.१२, व्यापार १.८३ र अन्य समूह २.५१ प्रतिशतले बढेका छन्।
आज बजारमा मूल्य १० प्रतिशतसम्म बढ्ने कम्पनीहरू पनि रहेका छन्। सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशतले बढेको छ। कालिका पावर र सयपत्री हाइड्रोपावरको मूल्य पनि करिब ९.८ प्रतिशतले बढेको छ।
धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स मुख्य छन्। अधिकांश मूल्य घट्ने सेयर भने ऋणपत्र समूहमा देखिएको छ।



