काठमाडौँ, असार २६ – नेपाली शेयर बजार परिसूचक नेप्से बुधबार २५.८९ अंकले उकालो लागेर २,७३१.८० विन्दुमा पुगेको छ। यो ०.९५ प्रतिशतको वृद्धिलाई जनाउँछ।
आजको कारोबारी दिनमा कुल १६१ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा ८७ कम्पनीको मूल्य घटेको देखिन्छ। कुल ८८,६१५ वटा कारोबारबाट झन्डै २ करोड ६५ लाख कित्ता सेयर किनबेच भएको छ, जसको कुल कारोबार ९ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ।
उपसमूहहरू मध्ये जलविद्युत् र व्यापार समूह बाहेक बाँकी सबैले हरियो संकेत देखाएका छन्। ई खोला हाइड्रोपावर, मान्डु हाइड्रोपावर, समता लघुवित्त, भगवती हाइड्रो र सानिमा बैंकले उल्लेख्य वृद्धि देखाए। यस्तै, कर्पोरेट डेभलपमेन्ट, राप्ती हाइड्रो, सिन्धु विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा भने गिरावट आयो।



