काठमाडौं, भदौ २ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन्।
पाल्पाको तानसेनमा नेपाली कांग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने तर होटल, यातायात र अन्य पर्यटनसम्बन्धी गतिविधि सञ्चालनमा निजी क्षेत्रको प्रमुख भूमिका हुने उल्लेख गरे।
उनका अनुसार पर्यटन उद्योगलाई गति दिन सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउनतर्फ अघि बढिरहेको छ र यसका लागि आवश्यक नीतिगत तथा कानूनी संरचना निर्माणको काम भइरहेको छ। मन्त्री पाण्डेले पर्यटन क्षेत्र निजी लगानीमै बढी भर पर्ने भएकाले यसको दिगो विकासका लागि व्यवसायीलाई प्रोत्साहित गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा उनले नेपाली कांग्रेसले स्वदेशमै रोजगार सिर्जना गर्न प्राथमिकता दिन थालेको पनि बताए। वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक पर्यटन र अन्य क्षेत्रहरूलाई सशक्त बनाउनुपर्नेमा उनले जोड दिए।
पाण्डेका भनाइमा, निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भएमा मात्र पर्यटन उद्योगले देशको आर्थिक समृद्धिमा ठूलो योगदान दिन सक्नेछ।



