काठमाडौं, भदौ १३ – उखु किसान र कवाड व्यवसायीको आन्दोलनले शुक्रबार प्रतिनिधि सभामा व्यापक चर्चा पाएको छ । किसानहरूले वर्षौंदेखि थकित भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् भने कवाड व्यवसायीले सरकारी नीतिका कारण आफ्नो जीविकामै संकट आएको भन्दै विरोध जनाइरहेका छन्।
प्रतिनिधि सभामा सत्तापक्षदेखि प्रतिपक्षसम्मका सांसदहरूले आन्दोलनमा उठेका मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन्। नेकपा एमालेका सांसद ठाकुर गैरेले दुवै पक्षका आन्दोलनलाई जायज ठहर गर्दै किसान र व्यवसायीको पीडा तत्काल सम्बोधन गर्नुपर्ने बताए।
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हरेक वर्ष किसानले उही समस्याका कारण सडकमा उत्रिनुपर्ने अवस्था लाजमर्दो भएको टिप्पणी गरे। “हाम्रो बेइज्जत भइसकेको छ,” भन्दै उनले किसानको भुक्तानीमा सरकार लापरबाही गरिरहेको आरोप लगाए।
सरकारले पैसा अभावको कारण देखाएर किसानलाई भुक्तानी दिन ढिलाइ गरेको विषयमा सांसदहरूले तीव्र आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले दुई तिहाइ सरकारकै असफलता उजागर भएको दाबी गर्दै, “यदि किसानको पैसा दिन सक्दैन भने यो सरकार दुई तिहाइको दाबी गर्ने आधार के हो?” भन्ने प्रश्न उठाए।
त्यसैगरी, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शहर सफा राख्न कवाड व्यवसायीले पुर्याएको योगदानलाई स्मरण गर्दै उनीहरूलाई दण्डित गर्नु अन्याय भएको बताए। उनले उनीहरूको सम्मानमा कमी नगरि व्यवसाय सहज बनाउन माग गरे।
अन्य सांसदहरूले समेत किसान र कवाड व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले संवेदनशील भएर तत्काल समाधानतर्फ कदम चाल्नुपर्नेमा जोड दिएका छन्।



