१४ साउन, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध मजबूती, वैदेशिक लगानीको प्रवर्द्धन र पूर्वाधार विस्तारलाई सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले नेपाल विकासशील राष्ट्रतर्फ स्तरोन्नति हुँदै गर्दा देशलाई आत्मनिर्भर बनाउने दिशामा दृढ विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीका अनुसार, प्रभावकारी कूटनीति र सहकार्यद्वारा नेपालले अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउँदै लगानी, सहयोग र ऋण जुटाउने वातावरण सिर्जना गरिरहेको छ। साथै, खरिद ऐन र निर्माणसँग सम्बन्धित नीतिहरू पुनरावलोकन गरी संशोधन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
प्रधानमन्त्रीले नेपाललाई ल्यान्ड लक्ड (स्थलाबद्ध) राष्ट्रबाट ल्यान्ड लिंक्ड (भू-सम्बद्ध) राष्ट्र बनाउने प्रयास भइरहेकाले पूर्वाधार विकास र कनेक्टिभिटी विस्तारमा विशेष जोड दिइएको उल्लेख गरे। निजी क्षेत्रको सशक्तिकरण, श्रम तथा रोजगार क्षेत्रमा सुधार, र व्यापारिक वातावरण अनुकूल बनाउने कार्यलाई सरकारले रणनीतिक दृष्टिले अघि बढाइरहेको छ।
उनले बहुराष्ट्रिय कम्पनीहरूमार्फत मूल्य शृङ्खलाको विकासलाई प्रोत्साहन दिइएको जानकारी दिंदै भने, “सबै पक्षसँगको सहकार्यमार्फत नेपालको रूपान्तरण दिगो बनाउने लक्ष्यमा सरकार दृढ छ।”
प्रधानमन्त्रीको यो अभिव्यक्तिले सरकारको आगामी कार्यदिशा स्पष्ट पार्दै, नेपालको आर्थिक र भौगोलिक अवस्थालाई बदल्ने दीर्घकालीन योजना प्रति प्रतिबद्धता झल्काएको छ।



