काठमाडौँ, असार १२ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल आगामी शनिबार स्पेनतर्फ प्रस्थान गर्ने भएको छ। प्रधानमन्त्री ओलीले ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन असार १६ देखि १९ सम्म स्पेनको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको हो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय छलफल गर्नेछन्। नेपाल र स्पेनबीच आर्थिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रलगायत केही महत्त्वपूर्ण सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
स्पेनस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको भ्रमणलाई लिएर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। त्यहाँको नेपाली समुदाय प्रधानमन्त्रीको स्वागतमा उत्साहित रहेको छ। भ्रमणका दौरान प्रधानमन्त्री ओलीले स्पेनका उद्योगी-व्यवसायी तथा नेपाली समुदायसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।
नेपाल–स्पेन सम्बन्धको पृष्ठभूमि
नेपाल र स्पेनबीच सन् १९६८ मा कूटनीतिक सम्बन्ध स्थापन भएको भए पनि स्पेनमा नेपालले स्थायी दूतावास सन् २०१८ मा मात्र स्थापना गरेको हो। हाल स्पेनमा करिब २० हजार नेपाली विभिन्न पेशा र व्यवसायमा संलग्न छन्।
इतिहास हेर्दा, तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन भ्रमण गरेका थिए भने स्पेनका राजा कार्लोसले सन् १९८७ मा नेपाल भ्रमण गरेका थिए। पछिल्लो समय सन् २०१६ मा प्रचण्ड, सन् २०१९ मा सञ्चारमन्त्री बास्कोटा र सन् २०२१ मा राष्ट्रपति भण्डारीले पनि स्पेन भ्रमण गरिसकेका छन्।
सम्भावना र महत्व
स्पेन युरोपमा पर्यटनको लागि विश्व चर्चित देश हो जहाँ वर्षेनी करोडौँ पर्यटक पुग्ने गर्छन्। कोभिड–१९ को असर भए पनि नेपाल भ्रमणमा स्पेनिस नागरिकको चासो बढ्दो छ। नेपाली हिमाल, सांस्कृतिक सम्पदा, ध्यान-योग, तथा साहसिक गतिविधिले स्पेनिस पर्यटकलाई आकर्षण गर्ने सम्भावना उच्च रहेको छ।
प्रधानमन्त्रीको यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ, साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।



