प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे संसदमा जानकारी, यस्तो छ तालिका

Date:

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिया शहरमा आयोजना हुने संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन २१ सदस्यीय प्रतिनिधिमण्डलसहित स्पेन प्रस्थान गरेका छन्। यो सम्मेलन दशकमा एकपटक आयोजना हुने उच्चस्तरीय कार्यक्रम हो, जसमा राष्ट्र तथा सरकार प्रमुखहरूको सक्रिय सहभागिता रहन्छ। प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसदमा जानकारी दिँदै कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

भ्रमणको पहिलो दिन असार १४ गते साँझ कतार एयरवेजमार्फत दोहा हुँदै प्रधानमन्त्री म्याड्रिड प्रस्थान गर्छन्। दोस्रो दिन, असार १५ गते, भ्रमण टोली सेभिया पुग्नेछ। त्यही दिन प्रधानमन्त्रीले नागरिक समाजद्वारा आयोजना गरिएको सम्मेलनको प्लेनरी समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुनेछ। सोही दिन साँझ प्रधानमन्त्री ओलीले पेद्रो साञ्चेजसँग द्विपक्षीय बैठक गर्ने र स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने तालिका छ।

तेस्रो दिन, असार १६ गते, सम्मेलनको उद्घाटन सत्रमा सहभागी भएपछि प्रधानमन्त्रीले गेट्स फाउन्डेसनले आयोजना गरेको “विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोग घोषणा कार्यक्रम” मा सम्बोधन गर्नेछन्। दिउँसो स्तोनियाका राष्ट्रपति अलार कारिससँग भेटघाट हुनेछ। त्यसपछि, अल्पविकसित राष्ट्रहरूको अध्यक्षको रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै, उनले इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रो र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। साँझ स्पेन सरकारको औपचारिक रात्रिभोजमा सहभागी हुनेछन्।

असार १७ गते चौथो दिन, प्रधानमन्त्री ओलीले एलडीसी (अल्पविकसित देश) उच्चस्तरीय बैठकको अध्यक्षता गर्नेछन्। नेपाल, बंगलादेश, लाओस र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको सहआयोजनामा हुने “सशक्तिकरण लचिलोपन: दिगो एलडीसी स्नातकको लागि जलवायु स्मार्ट वित्तपोषण” (Empowering Resilience: Climate Smart Financing for Sustainable LDC Graduation) शीर्षकको साइड इभेन्टमा सम्बोधन गर्नेछन्। त्यस्तै, नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको पानी तथा सरसफाइमा वित्तीय स्रोत प्रवाहसम्बन्धी कार्यक्रममा पनि प्रधानमन्त्रीको सम्बोधन तय गरिएको छ।

पाँचौं दिन असार १८ गते, भ्रमण टोली सेभियाबाट म्याड्रिड फर्कनेछ। म्याड्रिडमा नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता रहनेछ। त्यसपछिको दिन, असार १९ गते, स्वदेश फर्किनुअघि प्रधानमन्त्रीले रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट गर्ने र स्पेनस्थित नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। अन्ततः, सोही रात १०:४५ बजे दोहामार्ग हुँदै स्वदेश फर्कने र असार २० गते काठमाडौं फर्किने कार्यक्रम छ।

यो भ्रमण नेपालको कूटनीतिक सक्रियता, अन्तर्राष्ट्रिय सहकार्य, लगानी प्रवर्द्धन र अल्पविकसित राष्ट्रहरूको तर्फबाट सशक्त आवाज प्रस्तुत गर्न महत्वपूर्ण मानिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

पोस्ट शेयर गर्नुहोस

सदस्य बन्नुहोस

spot_imgspot_img

लोकप्रिय

यो जस्तै थप
Related

कोलकातामा अभूतपूर्व वर्षा: करेन्ट लागेर ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ — कोलकातामा ३९ वर्षयताकै सबैभन्दा भारी...

हैजा रोकथामका लागि दसैँलगत्तै वीरगञ्जमा ठूलो खोप अभियान सुरु हुँदै

काठमाडौं, असोज ८ — नेपाल सरकारले वीरगञ्जमा फैलिएको हैजाको...

दशैं प्रभावमा सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं, असोज ८ — बुधबार नेप्से परिसूचक २७.८९ अंकले...

मन्त्री घिसिङले चीनसँग पूर्वाधार काम तत्काल सुरु गर्न जोड दिए

काठमाडौं, असोज ८ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...