काठमाडौं, भदौ २९ – प्रधानमन्त्री सुशीला कार्कीले हालैका घटनामा सरकारी संरचनामाथि भएको आगजनी सामान्य घटना नभई योजनाबद्ध षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरेकी छिन्।
आइतबार सिंहदरबारस्थित नयाँ गृह मन्त्रालयको भवनमा पदबहाली गरेपछि उच्च पदस्थ अधिकारीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका नाममा भएका आक्रमणले राज्यलाई ठूलो क्षति पुर्याएको उल्लेख गरिन्। उनका अनुसार प्रमुख निकायका अभिलेखदेखि लिएर सुरक्षा निकायका सवारीसाधनसम्म जलेर नष्ट हुनु, आवश्यक सेवामूलक भवनहरूलाई लक्षित गरेर तोडफोड हुनु गम्भीर विषय हो र यसको छानबिन गर्नुपर्नेछ।
कार्कीले मुलुकलाई पुनःस्थापना र पुनर्निर्माणको बाटोतर्फ अघि बढाउन उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै सबैलाई मिलेर सहयोग गर्न आह्वान गरिन्। उनले महाराजगञ्जस्थित जलेको प्रहरी वृत्त स्थानीय व्यवसायीले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको उदाहरण दिँदै “यस्तै एकता र सहकार्य जरुरी छ,” भनिन्।
मुख्यसचिव एकनारायण अर्यालले पनि आन्दोलनका कारण देशभरका सरकारी संरचना र सुरक्षा निकायका भवनहरूमा ठूलो क्षति पुगेको जानकारी दिए। उनका अनुसार तत्काल सेवा निरन्तरता दिन र प्राथमिकताका आधारमा पुनःनिर्माण सुरु गर्न बजेटको व्यवस्था अपरिहार्य हुनेछ।



