२४ जेठ, काठमाडौं — कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा तीव्र विकाससँगै आवश्यक ऊर्जाको माग बढिरहेका बेला ठूला प्रविधि कम्पनीहरू आणविक ऊर्जा स्रोततर्फ आकर्षित भइरहेका छन्। यसै क्रममा, फेसबुकको मातृ कम्पनी मेटाले अमेरिकी ऊर्जा कम्पनी ‘कन्स्टिलेसन इनर्जी’ सँग २० वर्षे सम्झौता गरेको छ।
मेटाको सम्झौताले कन्स्टिलेसन इनर्जीको इलिनोइसस्थित ‘क्लिन्टन क्लिन इनर्जी सेन्टर’ पुनः सञ्चालनमा ल्याउनेछ। सन् २०१७ मा घाटा सहन नसकेर बन्द गर्न लागिएको उक्त प्लान्ट अमेरिकामा पारित शून्य उत्सर्जन क्रेडिट कार्यक्रमपछि जोगिएको थियो।
सम्झौतासँगै प्लान्टको उत्पादन क्षमता ३० मेगावाटले वृद्धि हुने र १,१०० स्थानीय रोजगारी संरक्षण हुने अनुमान गरिएको छ। साथै, उक्त परियोजनाबाट ८ लाखभन्दा बढी अमेरिकी घरमा विद्युत् आपूर्ति भइरहेको कम्पनीको दाबी छ।
एआई प्रणाली र डेटा केन्द्रहरूका लागि चाहिने उच्च मात्रामा ऊर्जा सुनिश्चित गर्न हरितगृह ग्यास उत्सर्जन न्युनिकरणको दबाबबीच, प्रविधि कम्पनीहरू साना आणविक रिएक्टर तथा वैकल्पिक ऊर्जामा ध्यान दिँदैछन्।
गत वर्ष अमेजन र गुगलले पनि उन्नत आणविक ऊर्जा परियोजनामा ऐतिहासिक सम्झौताहरू गरेका थिए। गुगलले काइरस पावरसँग, र अमेजनले एक्स-इनर्जी कम्पनीसँग सम्झौता गरिसकेका छन्। माइक्रोसफ्टले यस्तै प्रकृतिको सम्झौता कन्स्टिलेसन इनर्जी सँग गरिसकेको छ, जुन सन् २०२८ देखि लागू हुनेछ। उक्त सम्झौतामार्फत माइक्रोसफ्टलाई ८३५ मेगावाट कार्बनरहित ऊर्जा उपलब्ध गराइनेछ।
एआई प्रणालीले ऊर्जा माग बढाएको सन्दर्भमा साना मोड्युलर रिएक्टर (SMR) विकासमा लगानी तेज भइरहेको छ। यसले ओक्लो इंक, न्युस्केल पावर, क्यामेको, बीडब्लूएक्स टेक्नोलोजीज जस्ता कम्पनीहरूको सेयर मूल्यमा पनि सकारात्मक असर पारेको छ।
यद्यपि, आणविक ऊर्जाको स्वच्छता र सुरक्षाबारे वातावरणविद्हरूले चिन्ता प्रकट गरेका छन्। विशेष गरी माइक्रोसफ्ट र कन्स्टिलेसनको सहयोगमा पुनः सञ्चालन हुने ‘थ्री माइल आइल्यान्ड’ प्लान्टबारे आलोचना भइरहेको छ। सन् १९७९ मा दुर्घटना भएको उक्त प्लान्टलाई अमेरिकी परमाणु इतिहासको एक प्रमुख दुर्घटना मानिन्छ।



