काठमाडौं, साउन १ — बंगलादेशको गोपालगन्जमा बुधबार सुरक्षाकर्मी र शेख हसिनाका समर्थकबीच भएको हिंसात्मक झडपले चार जनाको ज्यान लिएको छ।
शान्तिपूर्ण र्यालीका क्रममा झडप सुरु भएको स्थानीय मिडियाले जनाएको छ। आन्दोलनमा विद्यार्थीहरूको नेतृत्व रहेको नेशनल सिटिजन पार्टी (एनसीपी) सहभागी थियो। बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको गृहनगर गोपालगन्जमा विरोध प्रदर्शन भइरहेका बेला स्थिति नियन्त्रण बाहिर गएको हो।
प्रहरीको गोली प्रहारमा चार जना मारिएको अस्पताल स्रोतले पुष्टि गरेको छ। अन्य घाइतेको समेत अस्पतालमा उपचार भइरहेको छ।
यो आन्दोलनको पृष्ठभूमि गत वर्षको जुलाई–अगस्टमा देखिएको विद्यार्थी आन्दोलनसँग जोडिएको छ। त्यसबेला पनि उग्र आन्दोलनका कारण हसिनाको सरकार अपदस्थ भएको थियो। त्यसपछि आन्दोलनकारी विद्यार्थीहरूले एनसीपी नामको राजनीतिक दल गठन गरेका थिए।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गोपालगन्जमा कर्फ्यू घोषणा गरेका छन्। उनले हिंसात्मक गतिविधिमा संलग्नहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
युनुसले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “शान्तिपूर्ण र्यालीमा प्रहरी र सञ्चारकर्मीमाथि आक्रमण भयो। यसमा हसिनाको अवामी लिग र विद्यार्थी संगठन जिम्मेवार छन्।” गोपालगन्ज अहिले अत्यधिक सुरक्षा व्यवस्थामा राखिएको छ।



