काठमाडौं, असार ३२ — चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। उनले आफूलाई प्राप्त यो सम्मानलाई जीवनका संघर्ष र धैर्यताको प्रतिफलका रूपमा लिएकी छन्।
समारोहमा सहभागी हुँदै मनिषाले सामाजिक सञ्जालमार्फत आफूले पार गरेको जीवनयात्राको अनुभव सेयर गरिन्। उनले लेखेकी छन्, “मैले परम्परागत शिक्षाबाट होइन, जीवनका संघर्ष, असफलता र सेवामार्फत धेरै कुरा सिकेकी छु। यो सम्मान मेरो लागि गहिरो अर्थ राख्छ।”
क्यान्सरजस्तो जटिल रोगलाई जितेर जीवनमा अघि बढेकी मनिषाका लागि यो उपाधि गर्वको क्षण भएको छ। उनले जीवनको सिकाइले औपचारिक शिक्षाभन्दा गहिरो पाठ दिएको बताउँदै सकारात्मक सोच र मेहनतले जीवनमा परिवर्तन सम्भव हुने सन्देश दिएकी छन्।
ब्राडफोर्ड विश्वविद्यालयले सामाजिक सञ्जालमा मनिषाको भिडियो सार्वजनिक गर्दै भनेको छ, “सपना कुनै पनि सानो वा ठूलो हुँदैन। जुन बाटो रोज्नुहुन्छ, त्यो पुरै मन दिएर गर्नुहोस्।”



