काठमाडौं, भदौ २२ – ‘मिसेस नेपाल वर्ल्ड २०२५’ प्रतियोगिताका ३० जना फाइनलिस्टको नाम महेन्द्र पुलिस क्लबमा आयोजित समारोहमा घोषणा गरिएको छ। यस अवसरमा सहभागीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको थियो।
यस संस्करणको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ। विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
फाइनलिस्टहरू देशका विभिन्न स्थानबाट अडिसनमार्फत छनोट भएका छन्। गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवी र पाइलटसमेतका महिलाहरू प्रतिस्पर्धा गरिरहेका छन् जसले विविधता र प्रतिभालाई उजागर गरेको छ।
फाइनलिस्टमध्ये चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुजाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, सिन्धुलीकी रञ्जना बुढाथोकी रहेका छन्।
यस्तै, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलिना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, इटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट विष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का र झापाबाट करुणा श्रेष्ठ फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका छन्।
सो अवसरमा गीतसंगीत र नृत्य कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। विद्यार्थी कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरेका थिए।



