९ असार, काठमाडौं — नेकपा माओवादी केन्द्रसहित वामपन्थी दलहरू र नागरिक समाज सम्बद्ध संस्थाहरूले इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा विरोध जनाएका छन्। उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै उक्त आक्रमणलाई “विश्वयुद्ध निम्त्याउने खतरनाक प्रयास” को संज्ञा दिएका छन्।
माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा प्रकाशित उक्त वक्तव्यमा अमेरिकाले परमाणु हतियारको बहानामा इरानमाथि आक्रमण गर्दै गम्भीर युद्ध अपराध गरेको आरोप लगाइएको छ। वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय कानुन र स्वाधीन राष्ट्रहरूको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप गरेको छ।”
माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, विप्लव नेतृत्वको नेकपाका महासचिव, एकीकृत समाजवादीका बलराम बाँस्कोटालगायत नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा युद्धविरामको माग गर्दै शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ।
वामपन्थी दलहरूले यसअघि इजरायली आक्रमणमा पनि प्यालेस्टाइनी जनताको पक्षमा ऐक्यबद्धता जनाएका थिए। अहिले अमेरिकी आक्रमणले विश्वव्यापी अस्थिरता र आतंकको वातावरण सिर्जना गरेको उनीहरूको ठहर छ।
वक्तव्यमा उल्लेख गरिएअनुसार हालको अवस्था विश्वव्यापी युद्धआतंक निम्त्याउने खालको छ, जसले शान्ति र स्थायित्वमा गम्भीर असर पुर्याउन सक्छ। उनीहरूले अमेरिकी र इजरायली क्रियाकलापलाई साम्राज्यवादी मानसिकताको उपज ठहर गर्दै यसविरुद्ध व्यापक प्रतिरोध आवश्यक रहेको धारणा राखेका छन्।
संयुक्त वक्तव्यमा नेपाल सरकारलाई इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षामा तत्काल पहल गर्न र स्वाधीन राष्ट्रहरूको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरिएको छ। साथै, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको आधारमा समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।



