९ साउन, काठमाडौं। भारतको राजस्थान राज्यस्थित झालावाड जिल्लामा शुक्रबार बिहान एक अत्यन्तै दुखद घटना घट्यो। मनोहर प्रहरी चौकी क्षेत्रको एउटा सरकारी विद्यालयको छत अचानक भत्किँदा तीनजना बालबालिकाको मृत्यु भएको छ भने कम्तीमा ३० जना विद्यार्थी घाइते भएका छन्।
यो घटनाले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। तत्कालै उद्धार कार्य सुरु गरिएको थियो र स्थानीय बासिन्दा, शिक्षक, प्रहरी तथा प्रशासनले भग्नावशेषबाट घाइते र मृत बालबालिकालाई बाहिर निकाल्ने प्रयास गरेका थिए। केही शिक्षकहरू पनि घाइते भएको जनाइएको छ।
घाइते विद्यार्थी र शिक्षकहरूलाई अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ।
यस दुर्घटनापछि शिक्षा विभागले कडा कदम चाल्दै पाँच जना शिक्षकलाई निलम्बन गरिसकेको छ। जिल्ला शिक्षा अधिकारी नरसी मीनाले तत्काल आदेश जारी गरेर यो कारबाही गरेका हुन्।
राजस्थानका शिक्षामन्त्री मदन दिलावरले घटनाको पुष्टि गर्दै भने, “यो निकै दर्दनाक दुर्घटना हो। हामीले तुरुन्तै जिल्ला प्रशासन र शिक्षा अधिकारीहरूलाई घटनास्थल पठाएका छौं। घाइतेहरूको उपचार भइरेहेको छ र घटनाको गम्भीर अनुसन्धान गरिनेछ।”



