काठमाडौं, २१ जेठ – सरकारले राजावादी नेताहरूको जारी आन्दोलनलाई मध्यनजर गर्दै उनीहरूलाई दिइएको व्यक्तिगत सुरक्षाकर्मी (PSO) फिर्ता लिएको छ। गृहमन्त्री रमेश लेखकका अनुसार आन्दोलनका कारण अन्यत्र सुरक्षा व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने भएकोले यस्तो निर्णय गरिएको हो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले आन्दोलन रोकिएपछि मात्र पुनः अंगरक्षक खटाइने जानकारी गराए। उनले आन्दोलनले उत्पन्न गरेको संवेदनशीलतालाई सम्बोधन गर्न सुरक्षा व्यवस्था पुनःक्रमबद्ध गरिएको बताए।
मन्त्री लेखकले बैठकमा गणतन्त्र, संघीयता र लोकतन्त्रप्रति सरकार प्रतिबद्ध रहेको प्रस्ट्याउँदै संविधानको मूलभूत संरचनामा हस्तक्षेप गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिए। उनले भने, “संविधान उल्ट्याउने वा गणतन्त्र फाल्ने जस्ता प्रयत्नले देशलाई पुनः अस्थिरतातर्फ लैजान सक्छ। यस्तो प्रयासबाट सबैले टाढा रहनुपर्छ।”



