१० असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा प्रभावकारी छानबिन नभएको भन्दै संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सोमबार आन्तरिक छलफलपछि उक्त निर्णय गरिएको जानकारी दिएका छन्।
शाहीका अनुसार, “विरोध नियमित रुपमा राख्ने निर्णय भएको छ। सुरुमा संसदमा कुरा राख्छौं र त्यसपछि कामकारबाही बहिष्कार गर्छौं।”
सरकारले गठन गरेको पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति प्रभावकारी नहुने निष्कर्षमा पुगेको राप्रपाको धारणा छ। शाहीले भने, “सरकारले बनाएको उच्चस्तरीय समिति हाम्रो मागअनुसारको होइन, हामी न्यायिक आयोग गठनको मागमा अडिग छौं।”
भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै राप्रपाले निरन्तर संसद अवरोध गर्दै आएको छ। यद्यपि सरकारले बजेटमाथिको छलफल भने अवरोधकैबीच अघि बढाइरहेको छ।
मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, जसमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू रहनेछन्। राप्रपाले भने सो समिति प्रभावकारी हुनेमा शंका गर्दै न्यायिक आयोगको गठन माग गरिरहेको छ।



