काठमाडौं, असार ३२ — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसदको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै संसदमा उत्पन्न डेडलक (गतिरोध) प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा संसदीय मामिलामा संलग्न पत्रकारहरूसँगको भेटमा राष्ट्रपतिले संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन निर्माण गर्ने थलो भएको उल्लेख गरे। उनले संसदले सरकार गठन गर्ने मुख्य जिम्मेवारी पनि बोकेको स्मरण गराए।
राष्ट्रपतिले सरकार निर्माणमा संसदभन्दा बाहिरको विकल्प खोज्न थालिए लोकतन्त्रको मर्म नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। उनले भने, “यदि संसदले सरकार बनाउने परम्परा छोडेर अरू उपायमा सोच्न थाल्यौं भने यो लोकतन्त्रको उल्टो दिशामा जान सक्छ।”
उनले नेपालमा प्रजातान्त्रिक अभ्यास अझै सशक्त हुन नसकेको र अझ धेरै अभ्यास आवश्यक रहेको पनि उल्लेख गरे। सबै वर्ग र समुदायका प्रतिनिधिहरूको सन्तुलित सहभागिता लोकतन्त्रको आधारभूत पक्ष भएको राष्ट्रपतिको भनाइ छ।
राष्ट्रपतिले समयमै आवश्यक कानुन नबनाउँदा राष्ट्रिय आकांक्षामा अवरोध पुग्ने चेतावनी पनि दिए। संसदलाई अवरुद्ध हुन नदिइ सहमति र सहकार्यमार्फत जनप्रतिनिधिले जनताको भरोसा बढाउनुपर्नेमा उनको जोड थियो।
उनले संसदीय प्रक्रिया जनमुखी बनाउन दलहरूबीच संवाद र सहकार्य अपरिहार्य भएको बताउँदै संसदप्रति जनविश्वास कायम राख्न आग्रह गरेका छन्।



