काठमाडौं, असोज ३ — रौतहटको कटहरिया नगरपालिकामा स्थानीय विद्यार्थीहरूलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।
नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा भएको यस तालिममा करिब १५० विद्यार्थी सहभागी भए। हालै देशभर फैलिएको जेनजी आन्दोलनले सामाजिक, राजनीतिक र मनोवैज्ञानिक क्षेत्रमा पारिरहेको असरलाई ध्यानमा राख्दै तालिम आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।
तालिममा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम गर्ने तरिका, सामाजिक जिम्मेवारीबोध, र सकारात्मक सोच विकास गर्ने उपायहरू बारे विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो।
आयोजकका अनुसार जेनजी आन्दोलनको क्रममा देखिएका हिंसा, तोडफोड र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको कारण युवायुवतीमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको पाइएकाले यस्तो तालिम आवश्यक रहेको हो। तालिममा सहभागी विद्यार्थीहरूले आफूहरूले सिकेका सीपहरू दैनन्दिन जीवनमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विशेषगरी सकारात्मक सोच, संवाद र आत्मबलको महत्व तालिममार्फत बुझ्न पाएको बताए।
स्थानीय तहका प्रतिनिधिहरूले यस्ता तालिमहरूले विद्यार्थीहरूको मानसिक स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै उनीहरूलाई सामाजिक रूपमा जिम्मेवार नागरिक बन्ने दिशामा प्रेरित गर्ने बताएका छन्।



