काठमाडौं, भदौ २१ — कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको एक जुत्ता–चप्पलको गोदाममा शनिबार बिहान अचानक आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ। प्रहरीका अनुसार आगलागीबाट करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
राति करिब २ः४० बजे टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स मा आगो लागेको थियो। घटनापछि लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।
गोदामकी सञ्चालक कल्पना जैशीको व्यवसाय अन्तर्गत भण्डारण गरिएका जुत्ता–चप्पल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। तर, मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ।
गोदाममा कोही नबसेको र आगलागी कसरी भयो भन्नेबारे प्राविधिक जाँच तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



