काठमाडौँ, साउन ३० – मल्ल राजा सिद्धिनरसिंहको शासनकालदेखि निरन्तर मनाइँदै आएको ऐतिहासिक नृसिंह जात्रा बिहीबार सम्पन्न भएको छ। भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा हुने यो जात्रा दैवी प्रकोप निवारण र विश्व शान्तिको कामनासहित मनाइन्छ।
जात्राको व्यवस्थापन ललितपुरका ६ कूलका राजोपाध्याय समुदायले उमेरक्रमका आधारमा पालैपालो गर्ने परम्परा रहेको छ। यस वर्ष गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जिम्मेवारी सम्हालेको थियो।
विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुको वध गरेको कथासँग जोडिएको यो जात्रामा बाजागाजा र भजन टोलीसहित नगर परिक्रमा गरिन्छ। नृसिंहतर्फ फर्केर धूप अर्पण गर्दै प्रल्हादको सम्झनामा उल्टो पाइला चाल्ने विशेष चलन पनि रहिआएको छ। नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वतीको मूर्ति राख्ने तथा छ जोडी कन्याको सहभागिता रहने परम्परा पनि यसमा समावेश छ।
परिक्रमा मार्गमा पाटनका गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत स्थानमा देवताहरूको विसर्जन र पूजापाठ गरिन्छ। बालबालिकालाई ढोगाउने परम्परा पनि यस अवसरमा निभाइन्छ।
ललितपुरमा दुई प्रकारका नृसिंहको स्वरूप पाइन्छ। कात्तिक नाचमा देखाइने उग्ररूप र उपालकं सायाको शान्त रूप। नेपाल संवत ७५१ (वि.सं. १६८८) देखि सुरु भएको यो जात्रा आजसम्म निरन्तर सञ्चालन हुँदै आएको मानिन्छ।



