काठमाडौं, साउन १० — नेपाल संघीय समाजवादी पार्टीले राजनीतिक सहकार्य र सम्भावित एकताका लागि औपचारिक वार्ता समिति गठन गरेको छ। पार्टी अध्यक्ष रिजवान अन्सारीले शुक्रबार बसेको पदाधिकारी बैठकमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका हुन्। उक्त समितिको नेतृत्व महासचिव अनन्त राईले गर्नेछन्।
अध्यक्ष अन्सारीले हालको राजनीतिक अवस्था ‘संक्रमणकालीन’ भएको उल्लेख गर्दै यस्तो अवस्थामा सहकार्य र एकताको आवश्यकता रहेको स्पष्ट पारे। उनका अनुसार अहिलेको परिस्थितिमा एउटै पार्टीले सबै चुनौतीको सामना गर्न नसक्ने भएकाले साझा रणनीतिमा अघि बढ्नुपर्ने समय आएको छ। यसैका लागि समितिले संघीय गणतान्त्रिक गठबन्धनभित्रका दलहरूका साथै अन्य सम्भावित राजनीतिक पक्षहरूसँग संवाद गर्नेछ।
पार्टीले ‘समग्र मधेस एक प्रदेश’ बनाउने अभियानलाई समेत प्राथमिकता दिँदै जनजागरणलाई तीव्र पार्ने योजना अघि सारेको छ। संघीय गणतान्त्रिक गठबन्धनअन्तर्गत सुरु गरिएको अभियानलाई ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी गरिएको छ। यसक्रममा सबै नेता कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ।
पार्टी बैठकले हालको सरकारप्रति पनि कडा आलोचना गर्दै व्यापक भ्रष्टाचार भएको ठहर गरेको छ। मन्त्रीहरू स्वयं घोटालामा संलग्न भएको विभिन्न प्रमाणहरू बाहिर आएको भन्दै पार्टीले सुशासनको पूर्ण अभाव भएको निष्कर्ष निकालेको छ। जनता सरकारबाट निराश भएको र उनीहरूमा निरन्तर असन्तोष बढिरहेको अन्सारीको भनाइ छ।
अध्यक्ष अन्सारीले राजनीतिक रूपले अत्यन्त संवेदनशील यो समयमा एक्लै हिँड्न सकिँदैन भन्ने अनुभव भएकाले एकता र सहकार्य आवश्यक भएको बताए। अब बन्ने वार्ता समितिले गठबन्धनभित्रका दलहरूका साथै अन्य सम्भावित राजनीतिक शक्तिहरूसँग पनि संवाद गरी साझा मोर्चा बनाउने दिशामा पहल गर्नेछ।



