काठमाडौं, असार २७ — अबदेखि विदेश भ्रमणमा निस्कने नेपाली नागरिकले बढीमा ३ हजार अमेरिकी डलरसम्म लैजान पाउने भएका छन्। आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा यो व्यवस्था गरिएको हो।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीति प्रस्तुत गर्दै हालको २,५०० डलरको सीमा बढाएर ३,००० डलर पुर्याइएको जानकारी दिए। यो कदमले विदेश जाने नेपाली पर्यटकका लागि केही सहजता ल्याउने अपेक्षा गरिएको छ।
मौद्रिक नीतिमा विदेशी मुद्रा व्यवस्थापनलाई लचिलो बनाउँदै वैदेशिक भ्रमण, उपचार वा अन्य व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने रकममा यथोचित व्यवस्था गरिने उल्लेख गरिएको छ। सरकारले पछिल्लो समय अन्तर्राष्ट्रिय यात्राको माग बढ्दै गएको र मुद्राको स्थायित्वलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको जनाइएको छ।



