काठमाडौं, साउन ७ — प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। उनले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको अनुभव, पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी देशमै रोजगारी बढाउने लक्ष्य रहेको स्पष्ट पारे।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उनले सरकारले विसं २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधारजस्ता विकासका मुख्य क्षेत्रहरूमा सरकारी तथा निजी क्षेत्रले भइरहेका ठूला लगानीले रोजगारी सिर्जनामा सहयोग पुग्ने उल्लेख गरे। सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम पुनःसंरचनासम्बन्धी नीति लिएको र यसलाई सीपमूलक तथा रोजगारमूलक बनाउन विशेष ध्यान दिइएको उनले बताए।
त्यसैगरी, वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गर्दै कोशी र मधेस प्रदेशका २० वटाका पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ। साथै नयाँ पुस्तालाई लक्षित गरी स्टार्टअप र नवप्रवर्तनमार्फत उद्यमशीलता विकास गर्ने कार्यक्रमहरू पनि अघि बढाइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध आफू दृढ र स्पष्ट रहेको बताउँदै, कुनै पनि गम्भीर भ्रष्टाचारका घटनालाई तथ्य र प्रमाणबिना सहने विषय नरहेको स्पष्ट पारेका छन्।



