काठमाडौं, १ असार – भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग र अन्य विषयमा असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद्मा उत्रिएका छन्। ती दुवै दलका सांसदहरूको अवरोधबीच प्रतिनिधिसभाको बैठक आज अघि बढाइएको छ।
बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले सभामुखको आसन घेरेर वेल घेराउ गरे भने राप्रपाका सांसदहरू उभिएर विरोधमा उत्रिए। विरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक सञ्चालन अघि बढाएका छन्।
सभामुख घिमिरेले अवरोधका बीच पनि बजेट छलफलको संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताउँदै सांसदहरूलाई संयमता अपनाउन आग्रह गरेका थिए। रास्वपाले भने गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म विरोध जारी रहने स्पष्ट अडान लिएको छ।



