काठमाडौं, भदौ २० — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समाजलाई आयका आधारमा तीन वर्गमा विभाजन गर्ने दृष्टिकोण प्रस्तुत गरेको छ। पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वार्षिक आम्दानीअनुसार उच्च, मध्यम र निम्न वर्गको परिभाषा दिएको हो।
ओलीले प्रस्तुत गरेको अवधारणा अनुसार वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आय गर्नेहरू उच्च वर्गमा पर्छन्। डेढ लाख रुपैयाँभन्दा कम आम्दानी हुनेहरूलाई निम्न वर्गमा राखिएको छ भने पाँच लाखसम्म आय हुनेहरूलाई मध्यम वर्गको परिभाषा दिइएको छ।
उनका अनुसार, निम्न वर्गका नागरिकहरू अझै आधारभूत आवश्यकताबाट वञ्चित छन्, त्यसैले उनीहरूको हितमा नीतिगत तथा कार्यक्रमगत पहल गर्नु पार्टीको प्राथमिकता हुनुपर्ने उनले बताए।
मध्यम वर्गलाई उनले तुलनात्मक रूपमा सक्षम भए पनि अस्थिर स्वभावको भएको उल्लेख गरे। “यो वर्ग परिवर्तनप्रति आकर्षित हुन्छ तर स्थायित्वमा टिक्दैन,” ओलीले भने।
उच्च वर्गबारे ओलीले भने, “यो वर्गले पुँजी र प्रविधि प्रयोग गरेर श्रमको शोषण गर्ने प्रवृत्ति राख्छ। दलाल, नोकरशाही र पुँजीपति समेत यसै वर्गमा पर्छन्।”
उनले यसरी समाजको वर्ग विभाजनलाई एमालेको आगामी राजनीतिक रणनीतिको आधार बनाइने स्पष्ट पारे।



