काठमाडौं, जेठ ३१ — संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ। शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले औपचारिक रूपमा सुनुवाइ प्रक्रिया अघि बढाएको हो।
बैठकमा समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले सार्वजनिक सहभागिता सुनिश्चित गर्नका लागि प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा सूचना तथा उजुरी संकलन गर्न सरकारी र डिजिटल सञ्चार माध्यम प्रयोग गर्ने प्रस्ताव राखिन्, जसलाई समितिले सर्वसम्मत रूपमा पारित गर्यो।
न्याय परिषद् सदस्यका रूपमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरिएको छ। त्यस्तै, सर्वोच्च अदालतमा न्यायाधीशका लागि तीन व्यक्तिहरू वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा प्रस्तावित छन्।
सुनुवाइ समितिले अब सार्वजनिक राय तथा उजुरीका आधारमा थप प्रक्रिया अघि बढाउने तयारी गरेको छ।



