असार २३, काठमाडौं — आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका प्रहरी जवानहरूलाई नेताहरूको घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनुलाई आपत्तिजनक ठानेका छन्। प्रतिनिधि सभाको बैठकमा उनले देश र जनताको सेवा गर्न आएका प्रहरी जवानहरूलाई नेताहरू र प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइने स्थिति अस्वीकार्य भएको बताए।
सांसद साहले गृहमन्त्रीलाई सोध्दै भने, “तपाईंको कमाण्डमा सुरक्षा निकाय छ कि छैन? यस्तो काम कानूनअनुसार ठीक हो कि होइन?” उनले डिआईजीभन्दा माथिका अधिकारीहरूको घरमा प्रहरी जवानहरूले गाडी चलाउने र घरधन्दा गर्ने चलन छ भनी छानबिन गर्न माग गरे। साथै, सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरूको घरको सीसीटीभी समेत जाँच गर्नुपर्ने बताए।
प्रहरी जवानहरूको दुरुपयोग र तिनलाई घरेलु कामदार बनाउने कार्यमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि सांसद साहले उठाएका छन्। उनका अनुसार, बन्दुक बोकेर देशको सुरक्षा गर्ने प्रहरी जवानलाई नेताहरूको घरमा निजी काममा लगाउनु उचित छैन र यसले सुरक्षा निकायको मर्यादा घटाउँछ।
यस विषयमा सांसद साहले घरेलु कामदारहरूको अधिकार र सुरक्षा सम्बन्धी कानून निर्माणको पनि जोड दिएका छन्, जसले प्रहरी जवान लगायत सबै घरेलु कामदारहरूलाई सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्न सघाउ पुर्याउनेछ।



