काठमाडौँ, भदौ १४ – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँ महानगर प्रहरीले सार्वजनिक सम्पत्ति संरक्षणदेखि अतिक्रमण हटाउने जस्ता कार्यमा प्रशंसनीय भूमिका खेलेको बताएका छन्।
शनिबार ३३औँ महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले महानगर प्रहरीलाई कानुन तथा नियम–पालनामा अझै सक्रिय रहन आग्रह गरे। बालेनले भने, “सुशासन र सुव्यवस्था कायम गर्न महानगर प्रहरीले देखाएको सक्रियता सराहनीय छ। राज्यका सुरक्षा निकायसँग सहकार्य गर्दै अझ प्रभावकारी रुपमा काम गर्न आवश्यक छ।”
कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले महानगर प्रहरीलाई नागरिकसँगै सुखदुःखमा उभिने संस्थागत प्रतिनिधिका रूपमा काम गर्न निर्देशन दिइन्। उनले जनताको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
हाल ३६२ जनाको संरचना रहेको महानगर प्रहरी बलले धूमपान नियन्त्रण, सडकमा छाडिएका चौपाया व्यवस्थापन, अव्यवस्थित टहरा हटाउने, बजार अनुगमनदेखि ढल व्यवस्थापनसम्मका काम गर्दै आएको छ। गत वर्ष मात्रै नियम उल्लङ्घन गर्ने सवारीसाधन धनी र अव्यवस्थित रुपमा फोहर फाल्ने व्यक्तिमाथि कारबाही गरी करिब तीन करोड ५६ लाख राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।
स्थापना दिवसको अवसरमा स्वयम्भू र वसन्तपुर दरबार क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रमसमेत गरिएको थियो। सोही अवसरमा विभिन्न श्रेणीका उत्कृष्ट प्रहरीलाई ‘महानगर प्रहरी गौरव’, ‘उत्कृष्ट महानगर प्रहरी’ र ‘महानगर प्रहरी पुरस्कार’ प्रदान गरिएको छ।



