काठमाडौं, भदौ १५ — चिकित्सा शिक्षा सुधार र निजी मेडिकल कलेजको सिट वृद्धि निर्णयको विरोधमा डा. गोविन्द केसीले धनगढी पुगेपछि आइतबार तीन दिनको सत्याग्रह सुरु गरेका छन्।
उनले गेटा मेडिकल कलेज परिसरमा आयोजित कार्यक्रममा केही समययता आयोग, सरकार र अदालतका निर्णयले चिकित्सा शिक्षा ऐनको मूल भावना संकटमा परेको बताएका छन्। डा. केसीका अनुसार, “प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेप र हालैको आयोगको सिट वृद्धि निर्णयले निजी मेडिकल कलेजलाई लाभ पुर्याउने मात्र भयो, तर शिक्षाको गुणस्तरमा गिरावट आएको छ।”
सत्याग्रहमार्फत डा. केसीले निजी कलेजको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज र अस्पताल सञ्चालन गर्न, र कैलालीको गेटा मेडिकल कलेजमा निर्माण सम्पन्न शिक्षण अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्।
उनी एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानहरूको कार्यान्वयन गर्न पनि जोड दिएका छन्।



