काठमाडौं, १७ भदौ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार नयाँ उच्च स्तरमा पुगेको छ। मंगलबार पनि दुवै धातुको मूल्य बढ्दै रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले महँगिँदै २ लाख ५ हजार ९०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन सोमबार यसै किसिमको सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार प्रतितोला १५ रुपैयाँले बढ्दै चाँदीको दर २ हजार ४८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सोमबारको कारोबारमा चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा रहेको थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि र आन्तरिक माग–आपूर्तिको प्रभाव नेपाली बजारमा प्रत्यक्ष देखिएको हो।



