काठमाडौं — आइतबारको उत्साहजनक वृद्धिपछि नेप्से परिसूचक सोमबार फेरि ओरालो लाग्यो। मौद्रिक नीतिपछि पहिलो दिन २९ अंकले बढेको बजार सोमबार ३५.०९ अंकले घटेर २,७२५.७१ अंकमा झरेको छ, जुन १.२७ प्रतिशतको गिरावट हो।
आइतबार बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र सामूहिक लगानी कोषजस्ता उपसमूहहरूमा परिसूचक बढेका थिए, तर सोमबार ती सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो।
सोमबार ५० वटा कम्पनीका सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीका सेयर मूल्य घटेका थिए। उक्त दिन ७२,६०१ पटक सेयर कारोबार हुँदा कुल २ करोड ११ लाख २५ हजार ४० कित्ता सेयर किनबेच भएको छ। यस कारोबारको कुल मूल्य ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबर रहेको छ।
अघिल्लो दिनको तुलनामा सोमबार सेयर कारोबारमा करिब सवा ३ अर्ब रुपैयाँको कमी देखिएको छ। आइतबार कुल सेयर कारोबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको थियो।



