काठमाडौँ, असार २ — नेपाल राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको १० रुपैयाँ दरका नयाँ नोटहरू सोमबारदेखि सार्वजनिक रूपमा चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार, जम्मा ६ करोड ३० लाख थान नोट बजारमा पठाइएको हो।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप देखिन्छ, साथै तल्लो भागमा ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ। नोटको सङ्केत नम्बर दर/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मको दायरामा रहेको जनाइएको छ।



