काठमाडौं, भदौ २१ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई दोष दिएर कुनै पनि गल्ती लुकाउन नहुने बताएका छन्। उनका अनुसार गल्ती गर्ने पार्टी होइन, बरु पार्टीभित्रका व्यक्ति हुन् र त्यसको परिणाम उनीहरूले आफैं भोग्नुपर्छ।
शनिबार काठमाडौं महानगरपालिका–३० ले आयोजना गरेको “बिपीको विचार र वर्तमान नेपालको राजनीति” विषयक कार्यशालामा बोल्दै उनले कांग्रेसभित्र शुद्धीकरण अनिवार्य भएको बताए। थापाले कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी भएकाले यसको मुल्य र सिद्धान्तलाई व्यक्तिका कारण दूषित बनाउन नहुने स्पष्ट पार्नुभयो।
उनले बिपी कोइरालाको विचार अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै कांग्रेसले त्यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे। उनका अनुसार, पार्टीले डर र लोभबाट मुक्त भएर अगाडि बढ्न सके मात्र जनताको विश्वास कायम हुन्छ।
“सरकारमा बस्ने वा नबस्ने कुरा ठूलो होइन,” थापाले भने, “तर चुनाव हार्ने भय र पदमा रहने लोभका कारण गठबन्धनको नाममा अरूको चिन्हमा भोट हाल्ने प्रथा बन्द गर्नुपर्छ।”
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं महानगर–३० का सभापति दलबहादुर कार्की, प्रदेश सभा क्षेत्र नम्बर ४ (क) का सभापति विमलकुमार होडा र अन्य नेताहरूले पनि बिपीको योगदान र अहिलेको राजनीतिक अवस्थाबारे विचार राखेका थिए।



