काठमाडौं, भदौ २६ — बलात्कार मुद्दामा नौ वर्षको जेल सजाय भोगिरहेका कञ्चनपुर दोधाराचाँदनी–१ का ३५ वर्षीय दीपक सुनार कारागारबाट भागेको भोलिपल्टै फेरि आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।
जेनजी आन्दोलनकै बेला कारागार तोडफोडपछि फरार भएका सुनारले बुधबार साँझ स्थानीय ५० वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको भन्दै पक्राउ परेका हुन्। खाना खाएर सुतिरहेकी महिलामाथि जबरजस्ती गर्ने प्रयास गर्दा पीडित चिच्याएपछि स्थानीयले उनलाई खेदेर खेतमा नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार, सुनारलाई नियन्त्रणमा लिएर पुनः कारागारमा राखिएको छ। प्रहरीका प्रवक्ता सागर बोहराले सुनार यसअघि पनि बलात्कार अभियोगमा दोषी ठहर भई नौ वर्ष कैद सजाय पाएका कैदी रहेको बताए।
पछिल्ला दुई वर्षदेखि जेल सजाय काटिरहेका उनी आन्दोलनको अराजक अवस्थाको मौका पाई भागेका थिए। कञ्चनपुर कारागारमा रहेका ४७९ कैदीमध्ये अधिकांश फरार भए पनि हालसम्म ४५ जना पुनः पक्राउ परेर कारागारमा फर्काइसकिएका छन्।



