काठमाडौँ, भदौ १२ – देशभर जापानिज इन्सेफलाइटिस (JE) को सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।
शाखाप्रमुख डा. अभियान गौतमका अनुसार अधिकांश सङ्क्रमितहरूमा खोप नलगाएको अवस्था पाइएको छ। मृत्युको धेरै भाग १५ वर्षभन्दा माथिको उमेर समूहमा देखिएको छ।
संक्रमणका कारणले विभिन्न जिल्लाहरूमा असर पारेको छ। मृत्यु भएको जिल्लाहरूमा झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी पूर्व, चितवन र नवलपरासी पश्चिम समावेश छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार, यस रोगको मुख्य कारण क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइ हो। यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण ल्याउँछ र समयमै उपचार नपाएमा बिरामीको मृत्यु हुन सक्ने खतरा हुन्छ।
स्वास्थ्य विभागले सबैलाई समयमै खोप लगाउन र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ।



