काठमाडौं, साउन ११ — उज्बेकिस्तानको तास्कन्दमा सम्पन्न विश्व युवा सभात च्याम्पियनसिपमा नेपालका खेलाडी बसिल तोयनाेले शानदार प्रदर्शन गर्दै रजत पदक हात पारेका छन्।
८० देखि ८५ किलो तौल समूहमा भएका लिग चरणका खेलहरूमा बसिलले पहिलो खेलमा आयोजक उज्बेकिस्तानका जिदिरोभ मोहम्मदलाई पराजित गरे। दोस्रो खेलमा उनले अजरबैजानका मेहमेद सुलेमनोभलाई पनि हराउँदै ६ अंक जोड्न सफल भए।
फाइनलमा बसिल र फ्रान्सका मल्भिन पेरिईबीच खेल भएको थियो, जहाँ बसिलले उत्कृष्ट प्रदर्शन गरेपनि पराजित हुँदै रजत पदकमा सन्तोष गर्नु परेको छ।
नेपालमा सभात खेल भित्रिएर दुई वर्ष मात्रै भएको भएता पनि यो प्रदर्शन गर्वका विषय रहेको नेपाल साभातका संस्थापक अध्यक्ष तथा प्रशिक्षक लक्ष्मण बस्नेतले बताए। उनले सभात खेलको पावर हाउस मानिने देश उज्बेकिस्तानलाई हराउनु र खेलको जन्मदाता फ्रान्ससँग प्रतिस्पर्धा गर्नु ठूलो उपलब्धि भएको बताए।



